७ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरिरहेको जनस्वास्थ्य प्रयोगशालाले (ल्याब) आफ्नो सेवा दायरा थप विस्तार गर्दै आइतबारदेखि १५ नयाँ प्रकारका स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ। वडा नं. ३ स्थित मालपोत चोकमा दुई वर्षदेखि सञ्चालनमा रहेको ल्याबमा यसअघिसम्म ५५ प्रकारका परीक्षण हुँदै आएका थिए।
मेयर राजेशमान सिंहले एक विशेष समारोहका बीच नयाँ सेवाहरूको उद्घाटन गर्दै महानगरको स्वास्थ्य सेवा अझ प्रभावकारी र सर्वसुलभ बनाउने लक्ष्यअनुसार ल्याब विस्तार भइरहेको बताए। ल्याबकी इन्चार्ज राधिका कुमारी गुप्ताका अनुसार थाइराइड, भिटामिन बी–१२, एचएस–सीआरपी, टीएसएच लगायतका परीक्षण थपिएपछि बिरामीलाई अब अन्य निजी ल्याबहरूमा धाउनुपर्ने आवश्यकता अन्त्य भएको छ।
महानगरले २०८० असोज २८ गते सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य परीक्षण उपलब्ध गराउने उद्देश्यसहित ल्याब सञ्चालनमा ल्याएको थियो। सेवाग्राहीको चाप बढ्दै गएपछि सेवाहरू क्रमिक रूपमा विस्तार गरिने मेयर सिंहले बताए। उनका अनुसार महानगरका विभिन्न चार स्थानमा नमूना संकलन केन्द्र खोल्ने तयारीसमेत अगाडि बढाइएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले ल्याबले निजी क्षेत्रको तुलनामा करिब ७५ प्रतिशत सस्तो दरमा सेवा प्रदान गरिरहेको जानकारी दिए। उनका अनुसार सीबीसी परीक्षण १७५ रुपैयाँमा, लिभर फंक्शन टेस्ट २०० रुपैयाँमा र लिपिड प्रोफाइल ३०० रुपैयाँमै गरिँदै आएको छ। यही सेवा निजी ल्याबमा ७०० देखि १,००० रुपैयाँसम्म पर्नेसम्मकाे तथ्यांक उनले सार्वजनिक गरे। त्यस्तै निजी क्षेत्रमा १,२०० रुपैयाँ पर्ने थाइराइड परीक्षण वीरगञ्ज महानगरको ल्याबले ५५० रुपैयाँमा उपलब्ध गराइरहेको छ।
महानगरले जेष्ठ नागरिक, मृगौला तथा क्यान्सर पीडित, एचआईभी संक्रमित, सहिद परिवार, मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारलाई सबै प्रकारका परीक्षणमा ९० प्रतिशत छुट तथा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
ल्याब इन्चार्ज गुप्ताका अनुसार सञ्चालनको दुई वर्षमा २२ हजार ५१६ जनाले ल्याब सेवा उपयोग गरेका छन्। २०८० असोज २८ देखि २०८२ मंसिर ६ गतेसम्म यही संख्याका सेवा–ग्राही रहेको उनले बताइन्।
सेवा विस्तारको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, स्वास्थ्य तथा जनसंख्या प्रवर्द्धन शाखाका प्रमुख राजु साहलगायत स्थानीय जनप्रतिनिधि तथा अधिकारीहरूको उपस्थिति थियो।

















