७ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २८ बगहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार सेवा सञ्चालनमा आएको छ। यसअघि केन्द्रले कार्यालय समयमा मात्र स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो।
सेवा उद्घाटन कार्यक्रममा मेयर राजेशमान सिंहले बगही प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर औपचारिक रूपमा २४ घण्टे आकस्मिक उपचार सेवाको शुभारम्भ गरेका हुन्। उनले स्वास्थ्य क्षेत्रको विस्तार र स्तरोन्नत्ती महानगरपालिकाको प्राथमिकतामा रहेको र त्यसअनुसार काम भइरहेको बताए।
मेयर सिंहका अनुसार २४ घण्टे आकस्मिक उपचार सेवा सञ्चालनमा आएपछि बगही र वरपरका हजारौँ नागरिकले आपतकालीन अवस्थामा उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा अध्यक्ष सर्युग महतो धानुक र अन्य स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो।

















