८ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको हो।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो। जनकपुरका जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ४१ रन बनाए। विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो। विराटनगरका शुभम् रन्जानेले ३७ र बसिर अहमदले ३६ रन जोडे। जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २–२ विकेट लिए।
यो जीतसँगै विराटनगर ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। जनकपुरले भने लगातार दोस्रो हार बेहोरेको छ।
एनपीएलमा आजै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने छ।

















