Logo

११ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जीत दर्ता गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण २ अङ्क जोडेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो। पोखराका सुमित वर्माले नटआउट ५० रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए। दिनेश खरेलले ३८ रन योगदान गरे। जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए।

जवाफमा १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स २० ओभरमा ९ विकेट गुमाई १३० रनमै रोकियो। जनकपुरका वेन पोर्नेलले ५० रन बनाएर रिटायर्ड आउट भए भने सञ्जय कृष्णमूर्तिले २५ रन जोडे। पोखराका बिपिन खत्री उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सुमित बर्माले २ विकेट हात पारे।

एनपीएल तालिकामा पुछारमा रहेको पोखराले यस जितसँगै एक स्थान उक्लँदै २ अङ्क जोडेको छ। लगातार तीन खेलमा पराजय बेहोरेको जनकपुर भने अङ्कविहीन रहँदै तालिकाको अन्तिम स्थानमा झरेको छ।

यसअघि आज नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जीत हासिल गरेको छ।

८ फ्रेन्चाइज टोली सहभागी रहेको दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि सुरु भएको हो र आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।


सम्बन्धित समाचार