१३ मंसिर, वीरगञ्ज। मधेस प्रदेशको एकमात्र महानगर अन्तर्गत पर्ने वीरगञ्ज महानगर–३२ नम्बर वडा कार्यालय वर्षौँदेखि साँघुरो कोठामा कैद भई बसेको छ।
सेवाग्राहीको भीड, घण्टौँ उभिएर सेवा लिनुपर्ने बाध्यता र दुर्गन्धले भरिएको वातावरणले यो वडा कार्यालय जनतामैत्रीभन्दा पनि ‘पीडामैत्री’ बनेको स्थानीयको गुनासो छ।
वडा कार्यालय एकै कोठामा सञ्चालन गर्ने बाध्यताका कारण न कर्मचारीसँग बस्ने ठाँउ छ, न सेवाग्राहीले आरामसँग पर्खिन पाउने ठाउँ। कोठामा प्रवेश गर्नासाथै शौचालयको दुर्गन्धले नाक थुन्नुपर्ने सेवाग्राहीको अनुभव छ। सवारी पार्किङको समस्या पनि उस्तै जटिल छ।
३२ नम्बर वडा कार्यालयमा दैनिक ७० देखि १०० जनासम्म नागरिकता, घटनादर्ता, घरबाटो सिफारिसलगायत कामका लागि आउने गरेका छन्। वृद्धवृद्धा, अशक्त, सुत्केरीहरूका लागि बस्ने व्यवस्था नहुँदा थप कष्टकर बन्ने गरेको छ।
घरबाटो सिफारिसका लागि आएका स्थानीय इजारुल हक अन्सारी भन्छन्,“यहाँ बस्ने ठाँउ छैन। हामीजस्ता बूढाबूढीले पनि उभिएर पर्खिनुपर्छ। खानेपानी, शौचालयको पनि अवस्था त्यस्तै छ । आठ वर्षदेखि यही अवस्था देख्दै आएको छु।”
वडा कार्यालयमा वडाध्यक्ष, वडा सचिव, प्राविधिक, लेखनदास र सहयोगी गरी छ जना कर्मचारी जम्मै एउटै साँघुरो कोठामा तीनवटामात्रै टेबल–कुर्सी राखेर बसेका छन्।
कर्मचारी मनिफ मियाँ भन्छन्, “काम गर्न निकै अप्ठ्यारो छ। न बस्ने ठाउँ, न छुट्टाछुट्टै कक्ष। यति साँघुरो कोठामा कति वर्ष बस्ने हो, कुनै निश्चितता छैन।”
भवन निर्माणको प्रतिज्ञा, तर आठ वर्षदेखि पहल शून्य
वडाध्यक्ष रियाज अहमद दुवै कार्यकालमा निर्वाचित वडाध्यक्ष हुन्। उनले विगतदेखि नै वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिने बताए पनि आठ वर्षसम्म वास्तविक काम गर्न नसकेको स्थानीयको आरोप छ।
अहमद भन्छन्, “विकास निर्माण जे–जसो होस्, वडा कार्यालय भवन बनाउने प्रतिज्ञा मैले टुटाउँदिन। महानगरले बजेट नदिए पनि वडाको बजेटबाट बनाउँछु।” तर भवन निर्माणका लागि कुनै उल्लेख्य कार्य अगाडि नबढेको स्वीकार गर्दै उनले बाटोघाटोका कामले आफू व्यस्त भएका कारण भवन निर्माणतर्फ ध्यान दिन नसकेको दाबी गरे ।
वीरगञ्ज महानगरले ३२ वटै वडा कार्यालयका लागि वार्षिक १ करोडदेखि १ करोड २५ लाख रुपैयाँसम्म बजेट उपलब्ध गराउँदै आएको छ।
प्रशासन शाखाका प्रमुख सुनिल कर्ण भन्छन्, “तत्काल भवन नबनाएकै अवस्थामा पनि सुविधासम्पन्न घर भाडामा लिएर कार्यालय सञ्चालन गर्न सकिन्छ। महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकाले फर्किनेबित्तिकै यस विषयमा प्रस्ताव राखिन्छ।”
सेवा प्रवाह अस्तव्यस्त, सुधारको अपेक्षा
वीरगञ्ज महानगरको धेरैजसो वडा कार्यालयमा आधारभूत संरचनात्मक सुविधा अभाव छ। वडा नम्बर ३२ का सेवाग्राही भने लामो समयदेखि भोगिरहेको असुविधाबाट मुक्त भई व्यवस्थित सेवा पाउने दिन कहिले आउला भन्ने प्रतीक्षामा छन् ।

















