१३ मंसिर, वीरगञ्ज । पर्सागढी शहीद स्मृति प्रतिष्ठान र वीरगञ्ज सामुदायिक आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा बहुदरमाई नगरपालिका-४, डोकैला बहुअरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा १०० जनाको आँखा परीक्षण गरिएको थियो ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालकी गीता धामीका अनुसार परीक्षण गरिएका सेवाग्राहीमध्ये ३९ जनामा मोतिबिन्दुको लक्षण भेटिएको हो। मोतिबिन्दु पहिचान भएका सबै बिरामीको वीरगञ्ज सामुदायिक आँखा केन्द्रमै निःशुल्क शल्यक्रिया गरिने मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए।
प्रतिष्ठानका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठले ग्रामीण बस्तीमा आँखा उपचारका सेवा सीमित हुँदा स्थानीयले लामो समयसम्म कठिनाइ सहनुपरेको बताउँदै, यस्तो शिविरले समुदायमा प्रत्यक्ष राहत पुगेको बताए। “ग्रामीण बस्तीमा समेत स्वास्थ्य सेवा पहुँच पुर्याउन प्रतिष्ठानले सामाजिक अभियानलाई निरन्तरता दिनेछ,” उनले भने।
प्रतिष्ठानका सल्लाहकार सुनिल कुमार रौनियार र अमिताभ बच्चन दासले पनि स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
शिविरमा महेशसिंह धामी, गीता धामी, अर्जिता ठाकुरसहितको टोलीले आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेको आयोजकले जनाएको छ ।

















