१३ मंसिर, काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार पनि दुई खेल हुँदैछन्। दुवै खेल ‘प्लेअफ’ समीकरणका हिसाबले निर्णायक मानिएका छन्।
दिउँसो सवा ११ बजे निर्धारित पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। प्रतियोगितामा तीन खेल खेल्दै दुई अंक जोडेको पोखरा तालिकाको छैटौँ स्थानमा छ। यस्तै, चार खेलबाट दुई अंक नै बटुलेको लुम्बिनी लायन्स सातौँ स्थानमा रहेको छ। दुवै टिमले प्लेअफ आशा जोगाइराख्न आजको खेल जित्नैपर्ने दबाबमा छन्।
अपराह्न साढे ३ बजे हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम चार खेल जित्दै आठ अंकसहित तालिकाको शीर्षस्थानमा छ। जनकपुर भने तीन खेलमध्ये तीनैमा पराजित हुँदै तालिकाको पुछारमा छ। आजको खेल जनकपुरका लागि प्रतियोगितामा फर्किने अन्तिम अवसरको रूपमा रहेको छ।
आजका दुवै खेलले तालिकाको प्रतिस्पर्धा अझ रोचक बनाउने अपेक्षा गरिएको छ।

















