Logo

१३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो चरणमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले पराजित गरेको छ। पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २२ रन बनाए। पोखराका बिपिन खत्री, सागर ढकाल र म्याट टेलरले समान २–२ विकेट लिएका छन् भने जिम्मी निशमले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाएर १५० रन बनायो। एडम रोसिङ्टोनले ८१ रन बनाए भने जिम्मी निशमले अविजित ५१ रन बनाएका थिए। लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट लिएका छन् भने गुल्बादिन नइबले १ विकेट लिए।

यो जीतसँगै लुम्बिनी तालिकामा २ स्थान उक्लँदै ४ अङ्कसहित पाँचौं स्थानमा पुगेको छ। हारसँगै पोखरा सातौं स्थानमा झरेको छ।

आज दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच अर्को खेल हुँदैछ। चार खेल खेलिसकेको सुदूरपश्चिम अहिलेसम्म अपराजित रहेको छ र ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। तीन खेलमा एक पनि जित हासिल नगरेको साविक विजेता जनकपुर अङ्कविहीन छ र तालिकाको पुछारमा छ।

हाल तालिकामा विराटनगर ८ अङ्कसहित दोस्रो, काठमाडौँ ६ अङ्कसहित तेस्रो, चितवन ४ अङ्कसहित चौथो र कर्णाली २ अङ्कसहित पाँचौं स्थानमा रहेका छन्। एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन्। दोस्रो संस्करणको प्रतियोगिता मङ्सिर १ गतेदेखि सुरु भई २७ गतेसम्म चल्नेछ।


सम्बन्धित समाचार