१४ मंसिर, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाजबीच भिडन्त हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ।
कर्णाली याक्स सोमपाल कामीको कप्तानीमा हालसम्म चार खेल खेलेको छ, तर एकमात्र जित निकाल्दै दुई अंकसहित तालिकाको छैटौँ स्थानमा सीमित छ। प्लेअफको आशा जिवन्त राख्न कर्णालीका लागि आजको खेल जित्नैपर्ने बाध्यता छ।
उता, करण केसीको नेतृत्वमा रहेको काठमाण्डू गोर्खाज ६ अंकसहित तेस्रो स्थानमा छ। तर प्लेअफ सुरक्षित गर्न उसले पनि आइतबारको खेलमा जित निकाल्नैपर्ने दबाब छ।
दुवै टोलीका लागि बराबरी महत्त्व बोकेको यो खेल एनपीएलको प्लेअफ समीकरणमै निर्णायक बन्न सक्ने संकेत देखिएको छ।

















