Logo

१४ मंसिर, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दर्ताको समय तोकेको भए पनि नयाँ दलहरूको चाप बढेपछि अवधि आजसम्मका लागि थपिएको थियो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइका अनुसार आयोगमा हालसम्म १३७ दल दर्ता भइसकेका छन्। दर्ता खुला गरिएको कात्तिक महिनाभर आयोगमा दल दर्ताका निवेदन निरन्तर रूपमा दर्ता भइरहेकाले अन्तिम दिनमा दर्ता प्रक्रियामा थप भीड लागेको बताइएको छ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले मंसिर १० गतेसम्म १०६ वटा दल दर्ता गरेको उल्लेख गरेको छ। त्यसयता बाँकी दलहरूले क्रमशः दर्ता गराइरहेका छन्।

यता माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि भने १३ राजनीतिक दल मात्र दर्ता भएका छन्। राष्ट्रियसभा चुनावमा भाग लिन इच्छुक दललाई मंसिर १ देखि ७ गतेसम्म दर्ताका लागि समय दिइएको थियो।

आगामी राष्ट्रियसभा निर्वाचनमा १८ जना सदस्यका लागि मतदान हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै निर्वाचनलाई लक्षित गर्दै आयोगले आवश्यक तयारी तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।


सम्बन्धित समाचार