Logo

१६ मंसिर, काठमाडौँ । त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । चार खेलमा चारै खेल हारेको जनकपुरका लागि आजको खेल ‘कर या मर’ जस्तै बनेको छ। आज पनि हार बेहोर्नु परेमा साबिक विजेता जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ ।

चितवनले ४ खेलबाट ४ अंक जोडेर प्लेअफमा प्रवेश गर्ने सम्भावना जोगाइरहेको छ। जित हासिल गरेमा उसका ६ अंक हुनेछन् र शीर्ष–४ मा पुग्ने बाटो सहज हुनेछ।

गत संस्करणको लिग भेटमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको थियो। त्यो जित दोहोर्याउँदै प्लेअफको दौड मजबुत बनाउने लक्ष्य चितवनको छ।

दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्स बीच दिउँसो ४:०० बजे हुनेछ ।

समान २ अंकका साथ रहे पनि कर्णालीले ५ खेल खेलिसकेको छ भने पोखराले ४ खेलमात्र खेलेको छ। यस कारण दुवै टोलीका लागि आजको खेल निर्णायक छ।

यदि कर्णालीले आज हारेमा ६ खेलपछि उसको अंक २ मै रहनेछ, जसले गर्दा प्लेअफ सम्भावना पूर्ण रूपमा टुंगिनेछ। अन्तिम खेल जितेपनि उसको कुल अंक ४ मात्रै हुने भएकाले शीर्ष–४ स्थानमा पुग्न असम्भव हुनेछ।

पोखराका लागि भने जितले प्रतियोगिताको प्लेअफको सम्भावना जिवित राख्नेछ । कम खेल खेलेको फाइदाले उसले अझै प्लेअफको दौडलाई मजबुत बनाउन सक्छ।
गत संस्करणमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको थियो।

बाँकी सात टोलीको प्लेअफ सम्भावना अझै बाँकी रहेकाले लिग चरण थप रोचक बनेको छ। आजका दुवै खेलले प्लेअफका समीकरणमा ठूलो प्रभाव पार्ने निश्चित छ।


सम्बन्धित समाचार