Logo

१३ चैत,वीरगञ्ज । वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा उत्खनन गर्ने कार्यमा प्रयोग भएका चारवटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ । वीरगंज महानगर–२८ दर्दवास्थित गुठीको जग्गा उत्खननमा प्रयोग भएका चारवटा टिपर र एउटा स्काभेटरलाई हिजो नियन्त्रणमा लिएको वीरगंज महानगरका नगरप्रहरी प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो ।

उहाँले नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा स्काभेटर र टिपर नियन्त्रणमा लिएर बालमन्दिर परिसरमा राखिएको जानकारी दिनुभयो । गुठीको नाममा रहेका जग्गामा निजी स्वार्थमा प्रयोग गर्ने अभिप्रायले दुई महीनादेखि माटो उत्खनन गरेर बिक्री गर्दै आएको सूचना महानगरलाई प्राप्त भएपछि आज यो कदम चालिएको बताइएको छ ।

गुठीको जग्गामा अवैध तवरबाट उत्खनन भएको भन्दै स्थानीय शेष पटेल, नवराज गिरीलगायतले पनि विरोध गरेका थिए । उनीहरूले नदीछेउको गुठीको जग्गाबाट माटो निकाल्दा वर्षाको समयमा समस्या आउन सक्ने बताएका छन् । भविष्यमा गाउँलेको अहित हुने र अहिले गुठीको जग्गाबाट व्यक्तिविशेषले कमाएका कारण यसको विरोध गरिएको उनीहरूले बताए ।

उनीहरूले घटनाबारेमा परवानीपुर प्रहरीलाई सूचित गरिएको तर प्रहरीले चासो नदेखाएपछि नगरप्रमुखलाई सूचित गरिएकोमा तुरुन्त कारबाही भएको बताए । स्थानीयले गुठीको जग्गाको माटो बिक्री भइरहेको र केहीले १२ बिघा जग्गा खनेर माछापालन गरेको तर यसबारेमा गुठी संस्थानले चासो नदेखाएको आरोप लगाए ।

आफ्नो अधीनको जग्गामा पोखरी खनेर माछापालन हुँदै आएको र अहिले माटो खन्ने कार्य हुँदा पनि गुठी संस्थान चुप बस्नुको अर्काे अर्थ हुनै नसक्ने उनीहरूको आरोप छ । एकजना टिपर चालकले चन्द्रिका पटेल भन्ने व्यक्तिको निर्देशनमा माटो खन्ने र ओसारपोसार गर्ने कार्य भएको प्रारम्भिक बयानमा बताएको महानगरपालिकाले जनाएको छ । महानगर प्रमुख सिंहले गुठी र सार्वजनिक जग्गाको अनधिकृत प्रयोजन हटाउने र संलग्न व्यक्तिविरुद्ध कारबाही हुने बताउनुभयो ।


सम्बन्धित समाचार