Logo

१७ मंसिर, वीरगञ्ज (पर्सा)। जगरनाथपुर गाउँपालिकाले कृषकलाई आधुनिक, उत्पादक र परिणाममुखी कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मंगलबार सार्वजनिक रूपमा जानकारी दिँदै उत्पादनवृद्धि, लागत न्यूनीकरण र किसानलाई समयमै गुणस्तरीय बिउ उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार किसानलाई समयमै उत्तम बिउ उपलब्ध गराउनु नै समृद्ध कृषि र समृद्ध गाउँपालिकाको आधार हो। “कृषि नै हाम्रो आर्थिक मेरुदण्ड हो। किसानलाई सक्षम र प्रतिस्पर्धी बनाउन गुणस्तरीय बिउ अत्यावश्यक हुन्छ,” अध्यक्ष यादवले भने, “हामी यही लक्ष्यका साथ अगाडि बढिरहेका छौँ।”

गाउँपालिकाले कृषकलाई सहभागी बनाउँदै बाली उत्पादन वृद्धि गर्न बिउ वितरण कार्यक्रमलाई प्राथमिकता दिएको छ। गहुँको उन्नत जातले उपजमा उल्लेख्य वृद्धि गर्नुका साथै खेतीका लागि आवश्यक खर्चमा कमी ल्याउने भएकाले किसानमा उत्साह देखिएको छ।

अध्यक्ष यादवले कार्यक्रम सफल बनाउन सहयोग र सक्रिय सहभागिताका लागि स्थानीय किसान समुदायप्रति आभार व्यक्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि कृषि प्रवर्द्धनका थप कार्यक्रम ल्याउँदै कृषकमैत्री योजनालाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार