Logo

१७ मंसिर,वीरगञ्ज । पोखरिया नगरपालिका–५ सतवरिया टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी र जोन चेयर पर्सन डा. लक्ष्मी थापाको सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर  सम्पन्न भएको छ।

स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजित उक्त शिविरमा तिलगंगा आँखा प्रतिष्ठान तथा बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो।

शिविरमा गरिएका परीक्षणका क्रममा ५७ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लब परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी दिए। उनका अनुसार यस्ता स्वास्थ्य शिविरहरू पोखरिया नगरपालिकाका सबै १० वटै वडा हुँदै निरन्तर सञ्चालन गरिनेछ।

शिविर वडा नं. ५ का अध्यक्ष महेन्द्र प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेपाली कांग्रेस नेतृ आशा देवी, समाजसेवी मनोज साह कानु, सुनिल साह, गोवर्धन यादव, रहिम मियाँ, कृष्णा पटेल लगायत स्थानीय सम्माननीय व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार