Logo

१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अबेईस्थित मिसनका लागि नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका छन् ।

घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल समाप्त भएपछि रथी श्रेष्ठले यो महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् । नेपाली सेनामा ३६ वर्षदेखि सेवा पुर्‍याएका श्रेष्ठले यसअघि दक्षिण सुडानमा सेक्टर कमान्डर, सुदूरपश्चिम पृतनापति र रम्भार रथीजस्ता नेतृत्वदायी पदहरूमा रहेर काम गरिसकेका छन् । सैन्य विज्ञान तथा रणनीतिक अध्ययनमा चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका श्रेष्ठले अर्थशास्त्र र मानविकीमा पनि डिग्री हासिल गरेका छन् ।

यसअघि बलाधिकृत रथी निर्मलकुमार थापाको अवकाशपछि रथीमा बढुवा भएका श्रेष्ठ संयुक्त राष्ट्र संघको फोर्स कमान्डर बन्ने आठौं नेपाली सैनिक अधिकारी हुन्, जसले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाको बलियो उपस्थिति र क्षमतालाई पुनः एकपटक प्रमाणित गरेको छ ।


सम्बन्धित समाचार