१८ मंसिर, काठमाडौं । अध्यागमन विभागले नेपालमा भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्कलाई व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने तयारी गरेको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न, सूचना प्रवाहमा सहजता ल्याउन, पर्यटन प्रवर्द्धन गर्न र अपराध नियन्त्रणका लागि यो प्रणाली अपरिहार्य रहेको बताएका छन् । आगामी जनवरी १ अर्थात पुस १८ देखि लागू हुने यस प्रणालीअनुसार नेपाल प्रवेश गर्ने हरेक विदेशी नागरिकले आफ्नो एकोमोडेसन (आवास) को विवरण अनिवार्य रूपमा राज्यलाई घोषणा गर्नुपर्नेछ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स ऐजन्ट्स (नाट्टा) ले यो कदमलाई स्वागत गरे पनि होटल एसोसिएसन नेपाल (हान) ले भने तयारी अपुग भएको भन्दै तत्काल कार्यान्वयनमा चुनौती देखिने बताएको छ ।
विभागले पहिलो चरणमा २०८२ पुस १७ गतेबाट काठमाडौँ उपत्यकाका तारे होटलहरूमा र २०८२ फाल्गुन १७ बाट देशभरका सम्पूर्ण सेवा प्रदायकहरू (होटल, एयरलाइन्स, होमेस्टे, ट्रेकिङ कम्पनी) मा यसलाई अनिवार्य गर्ने योजना बनाएको छ ।

















