१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको मिति घोषणा भएसँगै सबैभन्दा महत्त्वपूर्ण मानिने क्रियाशील सदस्यता वितरण तथा नवीकरणको कामलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ ।
पार्टीका महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील व्यवस्थापन समितिले अबको दुई दिनभित्र १६५ वटै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएको छ । समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जनाएअनुसार, पार्टीले जनसङ्ख्या र क्लस्टर संरचनालाई मापदण्ड बनाएर तोकिएको समयमै सदस्यतासम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।
नवीकरणका लागि पनि सबै जिल्ला कार्यसमितिहरूलाई सक्रियतापूर्वक काम गर्न भनिएको छ। महामन्त्री थापाको नेतृत्वमा रहेको यो समिति क्रियाशील सदस्यताको विवाद समाधान गरी निर्धारित समयमा महाधिवेशन सम्पन्न गराउनका लागि जुटिरहेको छ । यससँगै भातृ संस्थाहरूको विषयमा पनि पदाधिकारी बैठक बसेर चाँडै नै टुङ्गो लगाउने तयारी भइरहेको बुझिएको छ।

















