१९ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन औपचारिक आह्वान गरेको छ।
आयोगले आज सूचना प्रकाशन गर्दै यस प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरु हुने जनाएको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार, इच्छुक राजनीतिक दलहरूले यही मंसिर २१ गते बिहान १०ः०० बजेदेखि मंसिर २३ गते अपराह्न ४ः०० बजेसम्म आयोगको कान्तिपथस्थित कार्यालयमा निवेदन पेस गर्न सक्नेछन् ।
समानुपातिक निर्वाचन प्रणालीको प्रक्रिया अगाडि बढाउन आयोगले गत आइतबार नै कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ र आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ । निवेदन पेस गर्ने समयसीमा सकिएपछि आयोगले मंसिर २४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म आवेदन दिएका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निवेदन दिएर स्वीकृत भएका राजनीतिक दलहरूलाई आगामी पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारहरूको बन्दसूची पेस गर्ने समय निर्धारण गरिएको छ।
यसैगरी, आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअनुसार, आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता तथा सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ। उम्मेदवारीमाथि विरोधमा उजुरी दिने समय माघ ७ गते तोकिएको छ भने माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारहरूले माघ ९ गते आफ्नो नाम फिर्ता लिन सक्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । यसका साथै, आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको तयारीलाई पनि सँगसँगै अगाडि बढाइरहेको छ ।

















