१९ मंसिर,वीरगञ्ज । मधेस प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फ महिलाको समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्दै आएकी प्रदेशसभा सदस्य कन्ञन बिच्छालाई पदमुक्त गरिएको छ। मधेस प्रदेशसभा सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिच्छालाई प्रदेशसभा सदस्यताको सूचीबाट हटाइएको जानकारी सार्वजनिक गरेको हो।
राप्रपाले पार्टीको नीति विपरीत क्रियाकलाप गरेको आरोप लगाउँदै बिच्छालाई छ महीनासम्म साधारण सदस्यबाट नै निलम्बन गरेको थियो। त्यसैको आधारमा पार्टीको केन्द्रिय कार्यसम्पादन समितिले उनलाई प्रदेशसभा सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको र सोसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पुगेको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्राप्त पत्रअनुसार, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम निलम्बित सदस्यलाई पदमुक्त गर्नुपर्ने व्यवस्था रहेकाले बिच्छालाई प्रदेशसभा सदस्यबाट हटाइएको सचिवालयले जनाएको छ। साथै आवश्यक थप कानुनी प्रक्रियाका लागि समेत अनुरोध गरेको उल्लेख गरिएको छ।
सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन, २०७५ को प्रदेशसभा सञ्चालन नियमावलीको दफा १९० तथा अन्य लागू कानुनी प्रावधानकाअनुसार सूचना सार्वजनिक गरिएको स्पष्ट पारेको छ। जारी विज्ञप्तिमा प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाको हस्ताक्षर रहेको छ।


















