Logo

२० मंसिर,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री गौतमबुद्ध आधारभूत विद्यालयलाई नियोजित रूपमा समाप्त पार्ने प्रयास भइरहेको आरोप सार्वजनिक बनेपछि स्थानीय तहमा तीव्र प्रतिक्रिया देखिएको छ। दिनदहाडै विद्यालयको भवन नै भत्काइएको पाइएको छ, तर यसबारे स्थानीय सरकार तथा प्रशासन मौन बसेको भन्दै अभिभावक र सचेत नागरिक आक्रोशित छन्।

स्थानीयका अनुसार विद्यालयको नाम, निसाना र भौतिक संरचना हटाउने उद्देश्यसहित केही व्यक्तिहरू मिलेर ‘विद्यालय समाप्त अभियान’ चलाइरहेको आशंका बढेको छ। भवन भत्काउने काम खुलेआम भइरहेको भए पनि उपमहानगरपालिका र सम्बन्धित निकायले कुनै कदम नचालेको भन्दै अभिभावकहरूले गम्भीर प्रश्न उठाएका छन्।

घटनामा सोही वडाका लखनलाल चौधरीको संलग्नता रहेको स्थानीयको दाबी छ। वडाध्यक्षले समेत विद्यालय भवन भत्काइएको पुष्टि गरेपछि विवाद झनै बढेको छ। अभिभावक, शिक्षक तथा सामुदायिक प्रतिनिधिहरूले यसलाई शैक्षिक पूर्वाधारमाथिको प्रत्यक्ष प्रहार भन्दै तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

विद्यालय भत्काउने निर्णय किन, कसरी र कसको स्वीकृतिमा गरिएको हो भन्नेबारे उपमहानगरपालिकाले अझै स्पष्ट धारणा सार्वजनिक गरेको छैन। सामुदायिक विद्यालयमाथिको यस्तो हस्तक्षेपलाई स्थानीयले अराजकताको चरम अवस्था भन्दै व्याख्या गरेका छन्।


सम्बन्धित समाचार