२१ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले सो मितिमा विश्वासको मत लिने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक राम असिस यादवले जानकारी दिएका छन् ।
मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् र उनले सुरुमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना रहेको छ ।
















