२२ मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र बल प्रयोगको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
विगतका महाधिवेशनहरूमा नीतिको बहसले प्राथमिकता पाउने गरेको स्मरण गर्दै उहाँले अहिले प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्किने’ सुन्नु र जालझेल, षडयन्त्र, तथा कुस्ती खेल्नुलाई पार्टीभित्र हुर्किन नहुने ‘घातक संस्कार’ को संज्ञा दिनुभएको छ ।
विचारको ठाउँमा बलबाहुले अर्थ राख्दैन
बास्कोटाले महाधिवेशन प्रतिनिधि छनोटमा स्थापित विधि र पद्धति (सहमति वा भोटिङ) लाई अंगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँका अनुसार पाँचौं र छैटौं महाधिवेशनमा जनताको बहुदलीय जनवाद, नौलो जनवाद जस्ता सैद्धान्तिक तथा नीतिगत विषयमा घण्टौं बहस हुने गरे पनि प्रतिनिधि चयनमा ‘हाट्टहुट्, काङ्लाङकुङ्लुङ’ जस्तो गतिविधि नदेखिएको अनुभव सुनाउनुभयो ।
महोत्तरी लगायतका केही जिल्लामा ‘एउटाको भोट अर्कोले हालेको’ जस्ता अविश्वासपूर्ण कार्य भएको भन्दै उहाँले यो संस्कारलाई निरुत्साहित गर्न आग्रह गर्नुभएको छ । उहाँले स्पष्ट प्रश्न गर्नुभएको छ, ‘विचारको ठाउँमा बलबाहुले के अर्थ राख्छ र?’ पार्टीको आन्तरिक निर्वाचनमा यस्तो घातक संस्कार हावी हुनुले अन्ततः एमाले स्वयंलाई क्षति पुर्याउने उहाँको भनाइ छ।
















