Logo

२२ मंसिर,काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता आज शुरु भएको छ।

भेटमा प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूमा विस्तृत छलफल गरिरहेका छन्। वार्तामा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्। प्रसाईंको तर्फबाट १९ जना प्रतिनिधि वार्तामा सहभागी भएको स्रोतले जनाएको छ।

वार्ताले राजनीतिक तनावपूर्ण परिस्थितिमा नयाँ मोड ल्याउन सक्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार, समसामयिक राजनीतिक र सामाजिक मुद्दामा छलफल गर्न प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो।

प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि राखेका मागहरूको पूर्ण कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता, धार्मिक स्वतन्त्रता र नागरिक अधिकारमा विशेष जोड दिएका छन्।

२७ बुँदे मागपत्रमा समावेश मुख्य विषयहरूमा नेपालको वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली, राजसंस्था र हिन्दु राज्यको पुनर्स्थापना, धर्मनिरपेक्षताको नीतिमा संशोधन, विदेशी प्रभावबाट राष्ट्रियताको संरक्षण, सार्वजनिक शान्ति सुनिश्चितता, र नागरिक स्वतन्त्रताको पूर्ण संरक्षण रहेका छन्।

प्रसाईंको समूहले यी माग गत मंसिर ६ गते गृहमन्त्री अर्याललाई बुझाएका थिए। सरकारले राजनीतिक दलमार्फत मात्र यस्ता माग सम्बोधन गर्न सकिने सुझाव दिइसकेको छ। तर, समूहले तत्काल कार्यान्वयन नभए चरणवद्ध आन्दोलन सशक्त पार्ने चेतावनी पनि दिइसकेको छ।


सम्बन्धित समाचार