Logo

२२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयबाट चल्ने अवस्थामा पुर्‍याउँदा जनतासँगको दूरी बढेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित अन्तक्रियामा पाण्डेले पार्टीको वर्तमान परिस्थितिलाई बदल्न आवश्यक रहेको र नेतृत्वमा कानूनी रूपमा सीमा तोक्नु पर्ने बताए।

पाण्डेका अनुसार, “लोकतान्त्रिक इतिहास बोकेको हाम्रो पार्टी अहिले व्यक्तिवादी ढाँचामा गइरहेको छ। केही व्यक्तिको निर्णयले पार्टी चल्दा एमाले जनताको बीचमा खुम्चिँदै आइरहेको छ।” उनले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष नबन्ने कानूनी व्यवस्था आवश्यक रहेको धारणा राखे।

महाधिवेशनमा पार्टीभित्रको कमजोरीमाथि समिक्षा गर्दै नेतृत्व परिवर्तनको लोकतान्त्रिक प्रक्रिया प्रयोग गर्नुपर्ने उनले बताए। पाण्डेले ईश्वर पोखरेल समूहभित्र कुनै विवाद नरहेको भन्दै उपयुक्त समयमा पदाधिकारी टुङ्गो लगाइने दावी पनि गरे।

एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले भने, “पार्टीलाई सामूहिकतामा अघि बढाउन हामी ईश्वर पोखरेलको नेतृत्वमा छौं। नेतृत्वका चुनौती सामना गर्न हामी तयार छौं।” ज्ञवालीले आफूहरूको पक्ष महाधिवेशनमा विजयी हुने दाबी गर्दै अरु दलका नेताहरूलाई पनि एमालेमा आउन आह्वान गरे।

पाण्डेले नेतृत्व विकासमा समय दिनुपर्नेमा जोड दिँदै भने, “केपी ओलीले धेरै राम्रो काम गर्नु भएको छ तर कमजोरी पनि छन्। सधैं एउटै व्यक्तिले पार्टीको नेतृत्व गर्नु हुँदैन।” उनले वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई व्यक्तिमुखी बनाउन खोजेको आरोप पनि लगाए।

पाण्डेले आठौँ महाधिवेशनमा सर्वसम्मत रूपमा पारित लोकतान्त्रिक नेतृत्व विधि स्मरण गर्दै भने, “१० औं र ११ औं महाधिवेशनमा पहिले सूची पास गर्ने र सूचीमा रहेका मात्र उम्मेदवार बन्न पाउने प्रक्रिया ल्याउन खोजियो। यसले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाउँदैछ।”

उनले पार्टीमा प्रतिस्पर्धा नभएको र माथिबाट तोकिएको लिस्टअनुसार नेतृत्व चयन हुने प्रवृत्ति बढ्दा नवपुस्ता नेताहरू र जनतामा पार्टीप्रति आकर्षण घटिरहेको बताए।

पाण्डेले भविष्यमा कानूनी रूपमा एउटै व्यक्तिले पटकपटक नेतृत्व नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पुराना मात्रै नभएर नयाँ राजनीतिक दलमा समेत नेतृत्व परिवर्तन चुनौतीपूर्ण रहेको बताए।


सम्बन्धित समाचार