२३ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीले पूर्ण राजतन्त्रको पक्षमा नभई लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिने पक्षमा रहेको स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौंमा राप्रपाले गरेको जनसभालाई सम्बोधन गर्दै मिश्रले भने कि पार्टीले सबैले एकताको प्रतीक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको हो।
उनले थपे, “हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ। राजनीतिक दलहरूले हजारौँ गल्ती गरेका छन्, तर राष्ट्र र राज्य नै क्षय हुन नदिन राजसंस्था महत्वपूर्ण छ।”
मिश्रले राजसंस्था राजनीति भन्दा माथि रहेको र देशका सबै जातजाति, भाषाभाषी, धर्म-संस्कृतिका मानिसहरूले मान्ने संस्था भएको पनि बताए। साथै, राजनीतिक दलहरू आधुनिक शक्तिको प्रतिनिधि हुन् र त्यसैअनुसार अघि बढ्नुपर्ने बताए।
उनले अन्त्यमा भने, “राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्रको वकालत गरेको होइन, तर अब हामीले राजनीति भन्दा माथि, सबैको एकताको प्रतीक मान्न सकिने राजसंस्थालाई पुनःस्थापित गर्नुपर्छ।”














