Logo

२४ मंसिर,काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ४३ दलले दल दर्ता निवेदन नै दिएका छैनन्। निर्वाचन आयोगका अनुसार हालसम्म दल दर्ताको संख्या १४३ रहेको छ। तीमध्ये एक सय दलले समानुपातिक निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् भने बाँकी ४३ दलले निवेदन दिएका छैनन्।

निर्वाचन आयोगले मंसिर २१, २२ र २३ मा समानुपातिक निर्वाचनका लागि दल दर्ताको समय तोकेको थियो। निर्धारित समयमा प्राप्त निवेदनहरूलाई अध्ययन गरी मंसिर २६ भित्र स्वीकृति दिने आयोगको कार्यतालिका रहेको छ।

समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची आगामी पुस १३ र १४ मा पेश गरिनेछ। प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गरिनेछ भने दाबी, विरोध र उजुरीको छानबिन गरी अन्तिम बन्दसूची माघ २० गते प्रकाशन गरिनेछ।

प्रतिनिधि सभाका २७५ सदस्य प्रत्यक्ष र समानुपातिक प्रणालीबाट चयन हुनेछन्। यसअनुसार १६५ सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन गरिनेछ भने बाँकी ११० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।

प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्ने समय आगामी माघ ६ गते तोकिएको छ।


सम्बन्धित समाचार