२४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अझै पनि संकट नटरेको बताएका छन् ।
बुधबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको ‘जेनजी महोत्सव’लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन जस्तो बनेर ठूलो संकट आइपरेको स्मरण गर्दै सो खतरा अझै पूर्ण रूपमा नटरेको बताएका हुन् ।
उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्यो, राष्ट्र निकै ठूलो संकटमा पर्यो । अझै पनि संकट पूरै टरेको छैन । ठूला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि कुनै न कुनै खालको भूराजनीतिक चलखेल गरे ।’
नेपालसँग आणविक हतियार नभए पनि जनताको एकता नै सबैभन्दा ठूलो शक्ति भएको उनले जिकिर गरे । ‘हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर, मिसाइल टेस्ट गरेर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा छैनौं । त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत नेपालको छैन,’ प्रचण्डले भने, ‘तर तीन करोड नेपाली एक ढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ । त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन ।’
राष्ट्रको स्वाधिनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्ने उनको भनाइ थियो ।
नेपाली कम्युनिस्ट पार्टी बनाउनुको उद्देश्य अरू लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लैजानु रहेको उनले स्पष्ट पारे । राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका निम्ति एउटा नयाँ अभियानतिर जाने उद्देश्यले पार्टी बनाइएको भन्दै संयोजक प्रचण्डले देशभरिका सबै देशभक्त नेपालीहरूबीच एकता कायम गर्नुपर्नेमा जोड दिए ।















