२४ मंसिर, काठमाडौं । नागरिकता नपाएको कारण बर्दियामा एकै परिवारका दुई जनाले ज्यान गुमाएको घटनामा छानबिन गर्न गठन भएको समिति बुधबार घटनास्थल पुगेको छ। समितिले बढैयाताल–४ मा पुगेर स्थानीय सरोकारवालासँग जानकारी लिँदै अनुसन्धान प्रक्रिया थालेको हो।
समितिको पहलमा मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र अञ्जुका बुबा ६१ वर्षीय कान्छा थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमै गएर गराइएको छ।
गृह मन्त्रालयका उपसचिव तथा समिति सदस्य कुलशेखर अर्यालका अनुसार घटनाको मुख्य समस्या जन्म र मृत्यु दर्ता नहुनु रहेको बुझिएपछि सो समस्या तत्काल समाधान गरिएको हो।
उनका अनुसार अञ्जुको छोरीको जन्म दर्ता अञ्जुका श्रीमान् अनिल थारुको नाममा र अञ्जुका बुबाको मृत्यु दर्ता विधिवत् रूपमा सम्पन्न गरिएको छ।
“समिति संयोजक सुरेश पन्थीजीको नेतृत्वमा घटनास्थल पुगेर समग्र अवस्था बुझ्यौं। सर्वपक्षीय छलफलपछि जन्म तथा मृत्यु दर्ता प्रक्रियालाई टुंग्याएका छौं,” अर्यालले बताए। “अब बाँकी तथ्य–परक विवरण प्रतिवेदनमा समेट्छौं।”
अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ पूर्जी जारी भएको छ। मानवअधिकार आयोगले पनि घटनाबारे छुट्टै छानबिन गरिरहेको छ।
बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंश दिने आदेश गरेको थियो। तर नागरिकता नहुँदा उनी आफूलाई पर्नुपर्ने अंश लिन असमर्थ भइन्।
गृह मन्त्रालयले मंसिर २१ गते सहसचिव सुरेश पन्थीको संयोजकत्वमा उपसचिव कुलशेखर अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरेको हो। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।














