Logo

२४ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न इलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै क्वालिफायर–२ मा स्थान सुरक्षित गरेको हो।

१ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा जित हात पारेको थियो। टिमका लागि डी आर्सी सर्टले ३३, सन्दीप जोराले २३ र कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे। काठमान्डुको बलिङतर्फ सन्तोष यादवले २ विकेट लिए भने सन्नी पटेल, शाहब आलम र राशिद खानले समान १/१ विकेट झारे।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९ ओभर १ बलमै १ सय ११ रनमै सीमित भएको थियो। टिमका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए।

इलिमिनेटर जितेसँगै लुम्बिनी लायन्स अब फाइनल प्रवेशका लागि भोलि दिउँसो ४ बजे दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग भिड्नेछ। सो खेलमा विजयी टिम फाइनलमा पुग्नेछ भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।

आठ टोली सहभागी दोस्रो संस्करणको एनपीएलमा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका थिए। यसअघि हिजो सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स पहिले नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

एनपीएलको फाइनल आगामी शनिबार हुने तय गरिएको छ।


सम्बन्धित समाचार