२६ मंसिर,वीरगञ्ज । मन्त्रिपरिषद् विस्तार र विश्वासको मतको मिति तय गर्नका लागि शुक्रबार बोलाइएको मधेस प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको बैठक अचानक स्थगित भएको छ। मधेस भवनमा बिहान ११ बजे बस्ने तय भएको बैठक, सत्तारुढ दलका केही शीर्ष नेताहरू उपस्थित नभएको कारण स्थगित गरिएको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिएका छन्।
अब अर्को बैठक आइतबार बस्ने तयारी भइरहेको बताइएको छ। कांग्रेस नेतृत्वमा गठन भएको नयाँ सरकार आज ८ दिन पुगेको छ। मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र र लोसपालगायत ६ दलीय गठबन्धनको समर्थनमा कृष्णा यादव मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री यादवले पदभार सम्हालेपछि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एक जनालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दुई जना बिना विभागीय मन्त्रीका रूपमा समावेश छन्।
तर, मन्त्रालय बाँडफाँड, मन्त्रिपरिषद् विस्तार र सरकारले लिनुपर्ने विश्वासको मतको समयबारे अझै टुंगो नलाग्दा गठबन्धनभित्र सहमति र समन्वयको प्रश्न पुनः उठ्न थालेको छ।

















