२६ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ को वडा कार्यालय र स्वास्थ्य चौकी करिब ८ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो। शुक्रबारदेखि यी दुवै कार्यालय आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा आएका छन्।
संघ सरकारको १ करोड २५ लाख रुपैयाँ लागतमा मुर्ली पोखरी नजिकको जग्गामा निर्माण गरिएको दुई तले सुविधासम्पन्न भवनको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हिन्दु रितिरिवाज अनुसार पूजापाठ गरी गरेका छन्। वडाध्यक्ष सुरेश प्रसाद गुप्ताले उद्घाटनको जानकारी दिए।
नवनिर्मित भवनको भुई तलामा स्वास्थ्य चौकी सञ्चालन हुनेछ भने माथिल्लो तलामा वडा कार्यालय सञ्चालनमा ल्याइएको छ। वडाध्यक्ष गुप्ताका अनुसार, आफ्नै भवनबाट सेवाग्राही र बिरामीहरुलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सकिने भएको छ।
उद्घाटन कार्यक्रममा मेयर सिंहको प्रमुख आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा सदस्यहरू दिपक डंगोल र सीमा बैठा, वडा कार्यालयका सचिव मुकेश दास, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिती रहेको थियो।

















