२७ मंसिर, काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा भव्य कार्यक्रमसहित गरिने तयारी पूरा भएको पार्टीले जनाएको छ।
महाधिवेशनमार्फत् एमालेका करिब साढे २२ सय प्रतिनिधिले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ।
उद्घाटन समारोहमा नेपालको बहुजातीय, बहुसांस्कृतिक पहिचान झल्किने गरी २०० भन्दा बढी कला र संस्कृतिसम्बन्धी झाँकी प्रदर्शन गरिनेछ। साथै राष्ट्रिय एकताको सन्देश दिने सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि मञ्चमै प्रस्तुत गरिने तयारी गरिएको छ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ वटा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ। साथै, भ्रातृत्व र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय पार्टी प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिए।
महाधिवेशनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन एमालेका २४ जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटाइनेछ। त्यस्तै, करिब १० हजार तालिमप्राप्त स्वयंसेवक जनसेवामा परिचालन गरिने तयारी गरिएको छ।
कार्यक्रम स्थलमा सहभागीले सहज रूपमा कार्यक्रम अवलोकन गर्न सक्ने गरी मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन जडान गरिएको छ। करिब तीन किलोमिटरसम्म आवाज पुग्ने ११५ वटा उच्च गुणस्तरका साउण्ड सिस्टम जडान गरिएको छ। मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।
महाधिवेशन उद्घाटनका क्रममा चाँगुनारायण मन्दिरको प्रतिकृतिसहित मञ्च निर्माण गरिएको छ। मञ्चमा राखिएको विद्युतीय पाला पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत बालेर महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। ११औँ महाधिवेशनको अवसरमा ११ वटा पार्टी झण्डामध्ये १० वटा झण्डा सुरुमै फहराइने र एउटा झण्डा रिमोटमार्फत फहराइने विशेष व्यवस्था गरिएको छ।
उद्घाटन समारोहमा सहभागी सवारी साधनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म आवागमनको व्यवस्था मिलाइएको छ। गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। उद्घाटनअघि गठ्ठाघर र जगातीबाट भव्य र्यालीसहित कार्यक्रमस्थल प्रवेश गरिने व्यवस्था समेत गरिएको पार्टीले जनाएको छ।
















