२७ मंसिर, रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले निर्धारित समयमै पूर्वाधार निर्माण सम्पन्न नगरे सम्बन्धित निर्माण कम्पनीसँगको ठेक्का तोडिने चेतावनी दिएका छन्।
शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा निर्माणाधीन तर लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुलको स्थलगत अनुगमन गर्दै मन्त्री घिसिङले ठेकेदारलाई यथाशीघ्र काम पूरा गर्न कडा निर्देशन दिएका हुन्। अनुगमनका क्रममा उनले निर्माण कम्पनीका ठेकेदार दयाराम साहलाई बोलाएर निर्धारित समयसीमाभित्र काम सक्नुपर्नेमा जोड दिए।
ठेकेदार साहले पुल निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै बाँकी काम आगामी जेठभित्र कुनै पनि हालतमा पूरा गर्ने प्रतिबद्धता जनाएपछि मन्त्री घिसिङले उक्त प्रतिबद्धता पूरा हुन नसके ठेक्का तोडिने स्पष्ट चेतावनी दिए। चाँदीनदीको पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीसँग २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा सम्झौता गरिएको थियो। पुल समयमै सम्पन्न नहुँदा गैडाटार क्षेत्रका स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
यसैक्रममा मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने बागमती नदीमा निर्माणाधीन बडहर्वा पुलको पनि अनुगमन गरे। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित उक्त पुल विगत १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रूपमा शिलान्यास गरेको पुल अझै सम्पन्न हुन नसक्नुको कारणबारे छानबिन गरिने मन्त्री घिसिङले बताए। उनले विकासको आधार नै पुल र सडकजस्ता पूर्वाधार भएकाले यस्ता आयोजना लामो समयसम्म अलपत्र पर्न नदिन सरकार गम्भीर रहेको उल्लेख गरे।
पूर्वाधार अनुगमनसँगै मन्त्री घिसिङले शुक्रबार नै रौतहटको शिवनगरस्थित धार्मिक पर्यटकीय क्षेत्र शिव मन्दिरको अवलोकन गरे। साथै चन्द्रपुर–८ मर्धरमा ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ भन्ने अभियानअन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटनसमेत गरेका छन्।















