Logo

२८ मंसिर, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो तथा सुक्खायाम बढेसँगै देशभर आगलागीका घटनामा वृद्धि भइरहेको भन्दै आम सर्वसाधारण र सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा पछिल्लो एक महिनाको अवधिमा भएका आगलागीसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन जोड दिएको हो।

प्राधिकरणका अनुसार मिति २०८२ कार्तिक २५ गतेदेखि मङ्सिर २६ गतेसम्म देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन्।

विज्ञप्तिमा चिसो मौसमका कारण आगो बाल्ने, विद्युतीय उपकरणको लापरवाहीपूर्ण प्रयोग, ग्यास चुहावट तथा सुख्खा मौसमका कारण आगो छिटो फैलिने अवस्थाले आगलागीको जोखिम बढाएको उल्लेख गरिएको छ।

प्राधिकरणले घरायसी तथा व्यावसायिक क्षेत्रमा आगो प्रयोग गर्दा उच्च सतर्कता अपनाउन, विद्युत् तार तथा ग्यास उपकरणको नियमित जाँच गर्न, बालबालिकालाई आगोबाट टाढा राख्न र आगलागी भएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

साथै स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थालाई पूर्वतयारी र जनचेतनामूलक गतिविधि तीव्र पार्न समेत प्राधिकरणले अनुरोध गरेको छ।


सम्बन्धित समाचार