Logo

२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि १० दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ३५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा केन्द्रीय बैंकले बजारको अधिक तरलता र ब्याजदरलाई व्यवस्थित गर्न यो कदम चालेको हो । राष्ट्र बैंकले इजाजत दिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन् । आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने यस उपकरणको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ, जहाँ कम ब्याजदर बोल गर्नेलाई प्राथमिकता दिइनेछ । बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ हुनेछ । राष्ट्र बैंकले आज खिच्न लागेको निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुस ९ गते भुक्तानी हुने जनाएको छ ।

केन्द्रीय बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापनका लागि आवश्यकताअनुसार संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था अनुरुप नै पटक पटक तरलता खिच्दै आएको छ ।


सम्बन्धित समाचार