Logo

२८ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर नजिकको बिपी उद्यान पार्कमा वर्षौँदेखि सञ्चालित अस्थायी थोक तरकारी तथा फलफूल बजारमा डोजर चलाएर संरचनाहरू भत्काएको छ ।

सार्वजनिक उद्यानलाई व्यवस्थित र हरित पार्कका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत उक्त बजार हटाइएको महानगरले जनाएको छ । बिपी उद्यानमा यसअघि फलफूलको थोक बजार, खुद्रा तरकारी बजार, कपडालगायतका घरायसी सामग्री तथा नास्ता पसलहरू सञ्चालन हुँदै आएका थिए ।

महानगरले वीरगञ्ज–२ छपकैयास्थित रेल्वे रोड छेउमा करोडौँ लगानीमा सुविधा सम्पन्न नयाँ थोक तरकारी तथा फलफूल बजार निर्माण गरी गत मङ्सिर २१ गते औपचारिक रूपमा सञ्चालनमा ल्याएको थियो । नयाँ बजारमा खुद्रा र थोक कारोबार अलग–अलग व्यवस्था, फोहर व्यवस्थापन, पार्किङलगायत आवश्यक सुविधा उपलब्ध गराइएको छ ।

यद्यपि, बिपी उद्यानमा रहेका व्यवसायीहरू नयाँ स्थानमा जान नमानेपछि पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै महानगर डोजर चलाउन बाध्य भएको दाबी गरेको छ ।

महानगरका मेयर राजेशमान सिंहका अनुसार यसअघि नगवामा तरकारी बजार निर्माण गर्दा पनि व्यवसायीहरू त्यहाँ जान नमानेका थिए । त्यसपछि उनीहरूकै माग र सुझावअनुसार छपकैयामा नयाँ बजार बनाइएको हो । “आफैँले माग गरेर बनाएको बजारमा अब जान्नौँ भन्नु बहाना मात्रै हो,” मेयर सिंहले भने । उनले बिपी उद्यानमा बजार सञ्चालन हुँदा फोहर व्यवस्थापन ठूलो समस्या बनेको र पार्कलाई सार्वजनिक प्रयोजनका लागि सुरक्षित तथा आकर्षक बनाउने योजना रहेको स्पष्ट पारे ।

बिहान ५ बजेदेखि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको बाक्लो सुरक्षा घेरामा डोजर चलाएर अस्थायी टहरा तथा संरचनाहरू भत्काइएको थियो । यस क्रममा व्यवसायीहरूले कडा विरोध जनाएका थिए । केही समय सडक जाम गर्नुका साथै पार्कभित्र रहेका संरचनामा आगजनी र ढुंगामुढा समेत भएको बुझिएको छ । अवस्था तनावपूर्ण बने पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।

फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष जगु साह तुराहाले महानगरले एकाएक पूर्वसूचना नै नदिई डोजर चलाउँदा व्यवसायीहरूको लाखौँ रुपैयाँ बराबरको ताजा तरकारी तथा सामग्री नष्ट भएको आरोप लगाए । “छपकैया बजार हामीलाई पायक पर्दैन । त्यहाँबाट रक्सौल नजिक भएकाले उपभोक्ता सिधै भारततिर गएर सस्तोमा किन्छन्, यसले हाम्रो व्यवसाय नै सङ्कटमा पर्छ,” उनले भने ।

उनले नयाँ बजारको ठेक्का प्रक्रिया पारदर्शी नभएको, बाहिरियालाई दिइएको तथा निजी जग्गामा (पावरहाउस चोकतिर) बजार सार्न खोज्दा महानगरले अवरोध गरेको गुनासोसमेत गरे ।

यता, महानगरका प्रेस सल्लाहकार नवराज फुयाँलले व्यवसायीहरूका आरोप निराधार भएको दाबी गरे । “ठेक्का सार्वजनिक रूपमा आह्वान गरिएको हो । व्यवसायीहरूले सहभागिता जनाएनन्, अब आफूलाई नदिएको भन्न मिल्दैन,” उनले भने । निजी स्थानमा बजार सञ्चालन गर्न अनुमति, नक्सा पास र फोहर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा अवरोध गरिएको उनको भनाइ छ ।

नयाँ बजार सञ्चालनमा आएपछि बिपी उद्यान पूर्ण रूपमा खाली गराउने अभियान चरणबद्ध रूपमा अघि बढ्ने महानगरले जनाएको छ ।

स्थानीयहरूका अनुसार बिपी उद्यानमा बजार सञ्चालन हुँदा सहरको केन्द्रमा पहुँच सहज भए पनि फोहर र अव्यवस्था बढ्दै गएको थियो । अब पार्कमा संरचनागत सुधार, हरियाली विस्तार र सार्वजनिक सुविधाहरू थप्ने योजना महानगरले अघि सारेको छ ।


सम्बन्धित समाचार