२८ मंसिर, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ ।
सार्वजनिक पदमा नियुक्त भएपछि केही विवादमा जोडिएका कारण संस्थाको कार्यसमितिले निलम्बनको निर्णय गरेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलका आफ्नै मूल्यमान्यता र विश्वासहरू भएको र सार्वजनिक रूपमा संस्थाका पदाधिकारीहरूमाथि प्रश्न उठेमा त्यसलाई सम्बोधन गर्नुपर्ने भएकाले अस्थायी रूपमा निलम्बनको निर्णय गरिएको कार्यसमितिका एक सदस्यले बताएका छन् ।
ती सदस्यका अनुसार विवाद सुरु भएदेखि नै भण्डारी बराललाई राजीनामा दिएर संस्थालाई सहजीकरण गर्नका लागि सुझाव दिइएको थियो, तर उनले सो सुझाव अस्वीकार गरेकी थिइन् । सविता भण्डारी बराल सार्वजनिक पदमा पुगेको र उनले गर्नुपर्ने निर्णयका विषयमा समेत सार्वजनिक वृत्तमा प्रश्न उठेकाले संस्थाले यस्तो निर्णय लिनुपरेको जनाएको छ ।
भ्रष्टाचारको अनुगमन गर्ने र यस विरुद्ध वकालत गर्ने विश्वव्यापी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरमा भण्डारी बराल साधारण सदस्यको रूपमा सक्रिय थिइन् भने यसअघि उनी पटक(पटक कार्यसमितिमा समेत निर्वाचित भएकी थिइन् । यद्यपि, उनले विषयवस्तु स्पष्ट पारेमा निलम्बनबारे पुनर्विचार गर्न सकिने संस्थाले जनाएको छ ।
















