२९ मंसिर, काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक मोडमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनमार्फत आफ्नो पकड बलियो बनाएका छन्। पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय केन्द्रीय कमिटीबाट पारित गराएसँगै ओली नेतृत्वको रणनीतिले पार्टीभित्र तीव्र बहस र खुला असहमतिको रूप लिएको छ।
अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नो प्यानलबाट उठाउने पदाधिकारीहरूको सूची लगभग अन्तिम चरणमा पुर्याइसकेको नेताहरूले बताएका छन्। विभिन्न पदमा उम्मेदवारी दिन चाहने नेताहरूको विवरण संकलन गर्न विश्वासपात्र नेतालाई जिम्मा दिइएको थियो।
समन्वय संयन्त्रले उम्मेदवार बन्ने र नबन्ने नेताहरूको छुट्टाछुट्टै सूची तयार गरी राति अन्तिम विवरण ओलीलाई बुझाइसकेको एक नेताले जानकारी दिए। उक्त सूचीमा पदाधिकारी तथा केन्द्रीय कमिटीमा अनिवार्य रूपमा समेटिनुपर्ने नेताहरूको नाम उल्लेख गरिएको छ।
यसै आधारमा ओलीले विधान संशोधन गराएर पदाधिकारी संख्या १९ र केन्द्रीय समिति ३०१ पुर्याएका छन्। यसअघि भदौ २० देखि २२ मा ललितपुरमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा सीमित गर्ने, स्थायी कमिटी नराख्ने र केन्द्रीय समिति २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो।
तर नेतृत्व व्यवस्थापन कठिन भएको भन्दै ओलीले सचिवालय बैठकमा संख्या बढाउने प्रस्ताव ल्याएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे तथा सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले असहमति जनाएपछि उक्त प्रस्ताव सचिवालयबाट पारित हुन सकेन।
यद्यपि, आइतबारदेखि सुरु भएको बन्दसत्रअघि ओलीले बहुमत रहेको केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गराए। प्रचार तथा प्रकाशन विभाग प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले भने, “सचिवालयको निर्णय केन्द्रीय कमिटीले उल्ट्याएको हो।”
यस निर्णयको विरोधमा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले एमालेको सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्। उता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन अस्वीकार गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले अध्यक्ष ओलीलाई ‘अभिभावकको भूमिकामा बस्न’ आग्रह गरेका थिए।
विधान संशोधनपछि नेता व्यवस्थापन सहज भएको ठहर गर्दै ओलीले निर्वाचन कमिटीलाई तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार सोमबार बिहान ९ बजेदेखि उम्मेदवारी फाराम वितरण गरिनेछ भने दिउँसो १ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। उम्मेदवारको अन्तिम नामावली सोमबार बेलुका ६ बजे प्रकाशन हुनेछ। नयाँ नेतृत्व चयनका लागि आगामी पुस १ गते मतदान हुने तय भएको छ।
नेताहरूका अनुसार ओलीले महत्वपूर्ण पदमा हाल कार्यरत नेताहरूलाई दोहोर्याउने रणनीति लिएका छन्। तीन उपाध्यक्ष र महासचिव दोहोरिने लगभग निश्चित मानिएको छ। महासचिवमा आकांक्षा राखेका दुई नेतालाई उपाध्यक्ष बनाइने र त्यसपछि रिक्त हुने उपमहासचिव तथा सचिव पदहरू स्थायी कमिटी र पोलिटब्युरोबाट व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ।
उता, पोखरेल पक्ष पनि रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेको छ। पोखरेल पक्षका एक पदाधिकारीका अनुसार अब सबै पदमा उम्मेदवारी दिएर जाने निर्णय गरिएको छ र सोमबार बिहानसम्म नाम सूची अन्तिम रूप लिनेछ।
एमाले महाधिवेशनमा ओलीको संगठनात्मक पकड र पोखरेलको राजनीतिक चुनौती आमनेसामने हुँदा नेतृत्व चयनले पार्टीको भावी दिशा र शक्ति सन्तुलन निर्धारण गर्ने स्पष्ट देखिएको छ।
















