२९ मंसिर, काठमाडौँ । सहकारी विभागले एकै व्यक्तिले एकभन्दा बढी सहकारी संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि पुनः निर्देशन जारी गरेको छ। यसअघि पनि सोही विषयमा निर्देशन जारी गरिसकिएको भए तापनि, उजुरीका आधारमा अझै केही व्यक्ति दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको देखिएपछि विभागले यो कदम उठाएको हो।
सहकारी ऐन, २०७४ को दफा ४१ (५) अनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने प्रावधान छ। दफा ४४ (१) को खण्ड (ग) अनुसार, यदि कुनै सञ्चालक अर्को सहकारीको पनि सञ्चालक भएमा, उनी आफ्नो पदमा बहाल रहन सक्दैनन्।
सहकारी विभागले जनाएको छ, ‘हालसम्म पनि केही व्यक्ति दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको गुनासो प्राप्त भएकाले सम्बन्धित सबै सहकारी संस्था र सञ्चालक सदस्यलाई कानुनी प्रावधान कार्यान्वयन गर्न यो निर्देशन जारी गरिएको हो।’
यसअघि १९ असार २०८१ र १७ साउन २०८१ मा पनि विभागले एउटै व्यक्ति एकै समयमा एकभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने निर्देशन जारी गरेको थियो। त्यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ९ जेठ २०८२ मा जारी गरेको नियामकीय मापदण्ड, २०८२ मा पनि उक्त व्यवस्था स्पष्ट उल्लेख छ।
सहकारी विभागका अनुसार, ३२ असार २०८२ मा जारी सहकारी संघसंस्थामा सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशन, २०८२ को बुँदा नं १६ र नेपाल राष्ट्र बैंकले ४ चैत २०८१ मा जारी गरेको निर्देशन तथा मापदण्डले पनि दोहोरो सञ्चालकत्व रोक्ने स्पष्ट व्यवस्था गरेको छ।
विभागले सबै सहकारी संस्था र नियमनकारी निकायलाई सचेत रहन र कानुन तथा निर्देशनको पूर्ण पालना गर्न आह्वान गर्दै भनेको छ, ‘सहकारी संस्थाहरूको नियमनको भूमिकामा रहेका सबै निकायले उल्लिखित कानुनी प्रावधानको पालना सुनिश्चित गर्नुपर्नेछ। पालना नभए कानुनअनुसार कारबाही हुनेछ।’
सहकारी विभागका अधिकारीहरूका अनुसार, यो कदम सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन, स्रोतको दुरुपयोग रोकथाम र संस्थागत पारदर्शिता सुनिश्चित गर्न आवश्यक रहेको छ। विभागले स्पष्ट पारेको छ कि कानुन र निर्देशनको पालना गर्नु सहकारी अभियान र नियमनकारी निकायको साझा दायित्व हो।
















