Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र अर्का नेता ईश्वर पोखरेल समूहले आ–आफ्ना पदाधिकारी उम्मेदवारहरूको प्यानल तयार पारेका छन् ।

दुवै समूहले अध्यक्ष र महासचिवसहित प्रमुख पदका उम्मेदवारहरूको नाम टुङ्गो लगाएर औपचारिक घोषणाको तयारी गरिरहेका हुन् ।

ओली समूहको प्यानल

ओली समूहबाट अध्यक्षमा केपी शर्मा ओली आफैँ उम्मेदवार बनेका छन् भने महासचिवमा शंकर पोखरेल दोहोरिने निश्चित भएको छ । उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुङ्गो लागिसकेको छ । यसैगरी, प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखिए पनि अन्तिम छलफल जारी रहेको बुझिएको छ । उपमहासचिव पदमा भने विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवीर महासेठको नाम फाइनल भएको स्रोतले जनाएको छ । उक्त समूहले सचिव पदमा नौ जनाको नाम टुङ्गो लगाएको छ ।

ईश्वर पोखरेल समूहको प्यानल

यता, ईश्वर पोखरेल समूहले अध्यक्ष पदमा ईश्वर पोखरेललाई नै अघि सारेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्गो लागेको छ । उपाध्यक्ष पदमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको स्रोतले जनाएको छ ।

उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरीलाई अघि सारिएको छ । सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेल सहित कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाममा पनि छलफल जारी रहेको बताइएको छ । यद्यपि, दुवै समूहमा उम्मेदवारहरूको अन्तिम सूचीमा सामान्य हेरफेर हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।


सम्बन्धित समाचार