२९ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
गत मङ्सिर १९ गते ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले मङ्सिर २१ गते पद तथा गोपनियताको सपथ लिँदै गर्दा तीन दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए, जसमा जनमत पार्टीबाट महेशप्रसाद यादव अर्थमन्त्री, नेपाली कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
यद्यपि, सातदलीय गठबन्धनबीच भागबण्डामा कुरा नमिल्दा दुई मन्त्री बिनाविभागीय रहेकाले आजै बाँकी दलहरूबाट समेत प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एक-एक जना मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री यादवले गरेका हुन् ।
जनमतबाहेकको सातदलीय गठबन्धनको बैठकले तत्काललाई सात दलभित्रबाटै प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।
ती नेताका अनुसार, मन्त्रिपरिषद् विस्तार लगत्तै मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेश सभामा विश्वासको मत लिने निर्णय समेत भएको छ । यस विस्तारपछि गठबन्धन सरकारले पूर्णता पाउने अपेक्षा गरिएको छ ।
















