१ पौष, काठमाडौं । नेपाल प्रहरीमा सात जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पद डेढ महिनादेखि रिक्त रहँदा पनि बढुवा प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन ।
गत कात्तिक ९ गते पाँच एसएसपीहरू डीआईजीमा बढुवा भएपछि र त्यसलगत्तै मंसिर १ मा थप एक जनाको बढुवा तथा अर्का एक एसएसपीले राजीनामा दिएपछि यो रिक्तता सिर्जना भएको हो । प्रहरी प्रशासनमा महत्त्वपूर्ण मानिने एसएसपी पद लामो समय खाली रहँदा कार्यसम्पादनमा समेत असर पर्न सक्ने देखिएको छ ।
बढुवामा भइरहेको यो ढिलाइको मुख्य कारण जनपद र प्राविधिकतर्फको दरबन्दी मिलान रहेको बुझिएको छ। प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फका दुई एसएसपी दरबन्दीलाई जनपदतर्फ ल्याएर बढुवा गर्ने तयारी गरिरहेको छ। यसका लागि आवश्यक संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले अहिले सोही प्रक्रियामा गृहकार्य भइरहेको छ । सशस्त्र प्रहरीले पनि हालै दरबन्दी मिलानमार्फत माथिल्लो तहका पदहरू थप गरेको पृष्ठभूमिमा नेपाल प्रहरीले पनि सोही बाटो पछ्याउन खोजेको देखिन्छ ।
रिक्त सात पदका लागि अहिले झन्डै दुई दर्जन प्रहरी उपरीक्षक (एसपी) हरू तीव्र प्रतिस्पर्धामा छन् । बढुवाको दौडमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्रप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह लगायतका अधिकृतहरू अग्रपंक्तिमा रहेका छन् । प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले दरबन्दी मिलानको फाइल मन्त्रिपरिषद्बाट स्वीकृत भएर आउनासाथ बढुवाको सूचना निकाल्ने तयारी गरेको छ ।
















