Logo

३ मंसिर, काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान निर्धारण गरिएको छ। प्रत्येक मतदानस्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्र ‘क’ मा प्रदेशसभाका सदस्यहरूले मतदान गर्नेछन् भने मतदान केन्द्र ‘ख’ मा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था गरिएको छ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशका लागि जनकपुर उपमहानगरपालिका–४ मा रहेको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय, तथा गण्डकी प्रदेशका लागि पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसरलाई मतदानस्थल तोकिएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशको मतदानस्थल दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएको छ। कर्णाली प्रदेशका लागि वीरेन्द्रनगर, सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशका लागि धनगढी, कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने आयोगले जनाएको छ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाइएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै