Logo

३ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार भृकुटीमण्डपमा केही बेरमै मतगणना प्रक्रिया सुरु गरिँदैछ।

नयाँ नेतृत्व चयनका लागि तोकिएका २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् भने ३६ जना प्रतिनिधि अनुपस्थित रहेका छन्। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार हाल सबै ८० वटै मेसिनको छुट्टाछुट्टै मुचुल्का तयार गर्ने कार्य भइरहेको छ। सो प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिनेछ। उनका अनुसार मतगणना सुरु भएको करिब तीन घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

मतगणनाको प्रक्रिया

निर्वाचन आयोगले विद्युतीय मतदानको मतगणना यसरी गर्ने जनाएको छः

  • प्रत्येक मेसिनको अलग–अलग मुचुल्का तयार गर्ने

  • प्रतिनिधि संख्या र मत संख्या मिलान गर्ने

  • मत संख्या पुष्टि भएपछि मेसिन लक गर्ने

  • मेसिनबाट चिप्स निकालेर छुट्टाछुट्टै खाममा खामबन्दी गर्ने

  • सबै खामलाई फेरि क्रमसंख्या दिई एउटै प्याकेटमा राख्ने

  • उम्मेदवारका प्राविधिक, प्रतिनिधि, मेसिनका प्राविधिक तथा निर्वाचन आयोगका प्रतिनिधिको रोहबरमा मतगणना सुरु गर्ने

  • अन्तिम मतपरिणाम सार्वजनिक गर्ने

निर्वाचन आयोगका अनुसार मतपरिणाम सार्वजनिक, निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम पनि भृकुटीमण्डपमै सम्पन्न गरिनेछ ।

यसपटक एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। प्यानलमा नपरेका केही उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै