३ मंसिर, जनकपुर । मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका क्रममा ७२ जना कर्मचारी कारबाहीमा परेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा दुई–दुई जनाको सहभागितामा आठ वटा अनुगमन टोली गठन गरी दुई दिनसम्म अनुगमन गरिएको हो।
निमित्त प्रमुख सचिव रामकुमार महतोका अनुसार मंगलबार ४८ जना र बुधबार २४ जना गरी कूल ७२ कर्मचारीलाई कारबाही गरिएको हो। पदीय मर्यादाअनुसार काम नगरेको पाइएका दुई जना उपसचिवसहित विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरू कारबाहीमा परेका उनले जानकारी दिए।
प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारीको लापरबाहीबारे जनगुनासो बढेपछि जनकपुरधामस्थित कार्यालयहरूमा लगातार दुई दिन छड्के निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा बिदा स्वीकृति नलिई अनुपस्थित रहेका ३४ जना तथा तोकिएको पोशाक नलगाई कार्यालयमा उपस्थित भएको पाइएका ३८ जना कर्मचारीलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ जना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चार जना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन जना, शिक्षा तथा संस्कृति मन्त्रालयका पाँच जना, गृह, सञ्चार तथा कानून मन्त्रालयका एक जना, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ जना, वन तथा वातावरण मन्त्रालयका छ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच जना तथा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका तीन जना कर्मचारी रहेका छन्।
प्रदेश सरकारले सरकारी कार्यालयमा अनुशासन कायम गर्न र सेवा प्रवाह प्रभावकारी बनाउन अनुगमनलाई निरन्तरता दिने जनाएको छ।















