२ पौष, काठमाडौं । नेपालको बैंकिङ इतिहासमा निक्षेप तथा कर्जाको ब्याजदर पछिल्लो १३ वर्षयताकै न्यून विन्दुमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत दर ओरालो लागेर ४.८३९ प्रतिशतमा सीमित भएको हो । मंसिरमा यस्तो दर ५.०४५ प्रतिशत रहेकोमा पुसमा बैंकहरूले सामूहिक रूपमा ब्याजदर घटाउने निर्णय गरेका हुन् । बैंकिङ प्रणालीमा रेमिट्यान्सको प्रवाह निरन्तर बढ्नु र त्यसको अनुपातमा कर्जाको माग हुन नसक्दा अहिले बैंकहरूमा करिब सवा ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ, जसका कारण बैंकहरूले निक्षेप लिनसमेत आनाकानी गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत नीतिगत दर र स्थायी तरलता सुविधा दरमा कटौती गरेर ब्याजदर घटाउने रणनीतिलाई बल पुर्याएको छ। केन्द्रीय बैंकको यो कदमले बैंकहरूको कोषको लागत कम गराएको छ, जसका कारण आधार दर सँगै अब ऋणको ब्याजदर पनि स्वतः सस्तो हुने देखिएको छ ।
तर, ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा ऋणीलाई राहत मिले पनि यसले पुँजी पलायन हुने र अनौपचारिक अर्थतन्त्र मौलाउने जोखिम बढेको भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन् । कर्जा सस्तो हुँदा समेत उत्पादनशील क्षेत्रमा लगानी नबढ्नुले समग्र अर्थतन्त्रको शिथिलतालाई अझै प्रस्ट पारेको छ ।















