Logo

सांकेतिक तस्बीर

४ पुस, वीरगञ्ज । मधेस प्रदेशमा आत्महत्या गम्भीर सामाजिक समस्याका रूपमा स्थापित हुँदै गएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा दैनिक औसत ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले अवस्था अत्यन्तै चिन्ताजनक रहेको देखाएको छ।

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म प्रदेशभर ४४० वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएका छन्। जिल्लागत तथ्याङ्कअनुसार सर्लाहीमा सबैभन्दा बढी ६४ र बारामा सबैभन्दा कम ४४ वटा आत्महत्याका घटना दर्ता भएका छन्। यस्तै, सप्तरीमा ४९, सिरहामा ६३, धनुषामा ६०, महोत्तरीमा ५५, रौतहटमा ५६ र पर्सामा ४९ वटा घटना दर्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको छ। समीक्षा अवधिमा १५९ महिला, १५० पुरुष, २६ बालक र १०५ बालिकाले आत्महत्या गरेको तथ्याङ्क छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले आत्महत्याको अवस्था अत्यन्तै गम्भीर र चिन्ताजनक रहेको बताए। उनका अनुसार मानसिक स्वास्थ्य समस्या, आर्थिक अभाव, प्रेम सम्बन्धका विवाद तथा सामाजिक सञ्जालका कारण बढ्दो एक्लोपन आत्महत्याका प्रमुख कारण बनेका छन्।

आत्महत्या न्यूनीकरणका लागि प्रहरीले समुदायस्तरमा सचेतनामूलक गतिविधि बढाएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनु कुमार साहका अनुसार सामुदायिक प्रहरीले विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र जोखिमबारे सचेतना शिक्षा दिँदै आएको छ। उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीका गतिविधिप्रति समय–समयमा ध्यान दिन आग्रह गरे। सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने, परिवारबाट टाढिँदै जाने र घुलमिल कम गर्ने किशोर–किशोरीप्रति अभिभावकले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

यसैबीच, सामाजिक अभियन्ता सुनिल कुमार साहले आत्महत्या न्यूनीकरणका लागि टोल-टोलमा सचेतनामूलक कार्यक्रम, डकुमेन्ट्री प्रदर्शन र अन्तरक्रियात्मक कार्यक्रम आवश्यक रहेको बताए। “यो केवल एक व्यक्ति वा परिवारको समस्या होइन, समग्र समाजको समस्या हो,” उनले भने, “यसका लागि सबै पक्षको सामूहिक प्रयास अपरिहार्य छ।”

अधिवक्ता राजकुमार महासेठले आत्महत्या न्यूनीकरणका लागि पारिवारिक सद्भाव, मेलमिलाप र संवादलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले अभिभावकहरूले आफ्ना बालबालिकाका लागि निश्चित समय छुट्ट्याउनुपर्ने र राज्यपक्षले पनि मानसिक स्वास्थ्य सेवा र सामाजिक संरक्षणका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए।

यता, मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म प्रदेशमा घरेलु हिंसाका १ हजार ८०६ उजुरी दर्ता भएका छन्। जिल्लागत रूपमा बारामा सबैभन्दा बढी ४०७ र सप्तरीमा सबैभन्दा कम १७ उजुरी दर्ता भएका छन्। यस्तै, सिरहामा २१८, धनुषामा २८६, महोत्तरीमा २६१, सर्लाहीमा १०७, रौतहटमा १६३ र पर्सामा ३४७ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्।

प्रहरीका अनुसार कुल उजुरीमध्ये ५२ प्रतिशत फछ्र्योट भएका छन्। फछ्र्योट दर सबैभन्दा बढी बारामा ७१ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा २५ प्रतिशत रहेको छ।


सम्बन्धित समाचार
भर्खरै