४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार थुनामुक्त हुने भएका छन्।
आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्र उनी रिहा हुनेछन्। लामिछानेले आफू व्यक्तिगत रूपमा रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन्।
उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशअनुसार, कुनै बिगोको हकमा दायित्व सिर्जना भए तिर्न-बुझाउने कागज तयार गराउनुपर्ने व्यवस्था रहेको छ।
रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार, उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरी मात्र लामिछानेलाई रिहा गरिनेछ।
लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा छन्। उनी बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा थुनामा रहेका थिए। यसअघि २०८१ माघमा राखेको एक करोड रुपैयाँ धरौटी पुनः राख्नुपर्नेछ। अदालतले सोधपुछ गरी बैंक जमानतमा दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ प्रमाणीकरण र सनाखत गराउने व्यवस्था मिलाएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार, अदालतले तोकेको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र लामिछानेलाई थुनामुक्त गरिनेछ।















