Logo

४ पौष, काठमाडौं । तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र प्रतिकूल मौसमका कारण शुक्रबार मुलुकका आधा दर्जन प्रमुख विमानस्थलहरू ठप्प भएका छन् ।

पुस ४ गते शुक्रबार बिहानैदेखि देखिएको न्यून भिजिविलिटीका कारण जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलबाट हुने उडान तथा अवतरण पूर्ण रूपमा प्रभावित भएका हुन् । जाडो बढेसँगै तराईका जिल्लाहरूमा लागेको कुहिरोले हवाई यातायात अवरुद्ध हुँदा हजारौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् भने कतिपयको यात्रा तालिका रद्द भएको छ ।

विशेष गरी भैरहवा विमानस्थल बन्द हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारीमा समेत अवरोध पुगेको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा कागजी प्रक्रियाका लागि लामिछानेलाई भैरहवा लैजान काठमाडौँ विमानस्थल पुर्‍याइए पनि मौसममा सुधार नआएपछि उनलाई वैकल्पिक रूपमा चितवनको भरतपुर विमानस्थलतर्फ उडाइएको छ । बुद्ध एयर लगायतका विभिन्न वायुसेवा कम्पनीहरूले मौसमका कारण उडान तालिकाहरू अस्तव्यस्त बनेको र सुरक्षाका कारण उडान भर्न नसकिएको जानकारी दिएका छन् ।

भिजिविलिटी कम हुँदा तराईका अन्य साना विमानस्थलहरूमा पनि उडान प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तराईका भूभागमा अझै केही दिन बिहान र दिउँसोको समयमा कुहिरो लाग्न सक्ने प्रक्षेपण गरेको छ। विमानस्थलहरू बन्द भएसँगै यात्रुहरूले सडक मार्गको सहारा लिनुपर्ने बाध्यता आइपरेको छ भने कतिपयले उडान सञ्चालनको प्रतीक्षामा लामो समय विमानस्थलका टर्मिनलहरूमा कुर्नुपरेको छ।


सम्बन्धित समाचार
भर्खरै