Logo

४ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको भरतपुर विमानस्थल हुँदै सडक मार्गबाट रुपन्देहीतर्फ लगिएको छ ।

भैरहवा विमानस्थलमा बाक्लो हुस्सु लागेर उडान र अवतरण सम्भव नभएपछि उनलाई बुद्ध एयरको जहाजमार्फत वैकल्पिक रूपमा भरतपुर अवतरण गराइएको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको आदेशबमोजिम रिहाइको कानुनी प्रक्रिया पूरा गर्न उनलाई शुक्रबार नै रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ ।

लामिछानेलाई भरतपुरबाट कडा सुरक्षा घेराबीच प्रहरीको गाडीमा राखेर रुपन्देहीतर्फ प्रस्थान गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकारीले पुष्टि गरेका छन् । उनलाई काठमाडौँबाट केन्द्रीय कारागारका डीएसपी जेसी शाहको कमान्डमा सुरक्षाकर्मीको टोलीले चितवनसम्म ल्याएको थियो । शुक्रबार बिहान ८ बजे नै त्रिभुवन विमानस्थल पुर्‍याइए पनि भैरहवाको प्रतिकूल मौसमका कारण लामिछानेले करिब ६ घण्टाभन्दा बढी समय विमानस्थलको विशिष्ट कक्षमा प्रतीक्षा गर्नुपरेको थियो ।

अदालती प्रक्रिया ढिला हुँदा रिहाइको समय लम्बिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले उनलाई द्रुत मार्गबाट रुपन्देही पुर्‍याउने प्रयास गरिरहेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार उनलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश कार्यान्वयनका लागि आवश्यक कागजी प्रक्रिया र धरौटी बुझाउने प्रयोजनका लागि उनलाई आजै अदालतमा पेस गरिनेछ ।


सम्बन्धित समाचार
भर्खरै